Hint Plus Notes Source: Gorkhapatra (original)
↗ Open Original 🖨️ Export PDF

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर
मिति: १० भदौ २०८३

 १. राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको कार्यान्वयन र अनुगमनलाई प्रभावकारी बनाउन मन्त्रालयले कुन एकाइ स्थापना गर्ने भएको छ ?

उत्तर : सेतु एकाइ (सिँचाइ कार्यान्वयन तथा अनुगमन एकाइ)

आयोजनास्थल र मन्त्रालयबिच समन्वय गर्न सेतु एकाइ स्थापना गरिने साथै प्रमुख निर्माण स्थलमा सिसिटिभी जडान गरेर एकीकृत ड्यासबोर्डमार्फत मन्त्रालयबाटै प्रत्यक्ष निगरानी गरिने जनाइएको ।

सरकारले समयसीमा पुनरवलोकन गर्दै राष्ट्रिय गौरवका अधिकांश सिँचाइ आयोजना आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य अघि सारेको ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भेरी–बबई बहुउद्देश्यीय, बबई र सिक्टा सिँचाइ आयोजनालाई आगामी तीन सुक्खा मौसमभित्र सम्पन्न गर्ने गरी काम अघि बढाउन निर्देशन दिएका ।


सिक्टा सिँचाइ आयोजनामा ‘डिस्पर्सिभ स्वाइल’ (घुलनशील माटो) को प्राविधिक समस्या र महाकाली सिँचाइ आयोजनामा जग्गा प्राप्ति तथा भारतबाट प्राप्त हुने पानीको अनिश्चित प्रमुख चुनौतीका रूपमा रहेका छन् ।


२. हेमबहादुर मल्ल सम्मान २०८२ बाट सम्मानित हुने व्यक्तित्व को हुनुहुन्छ ? 

उत्तर : रामेश्वरप्रसाद खनाल (पूर्वसचिव तथा पूर्वअर्थमन्त्री)

विसं २०८१ को हेमबहादुर मल्ल सम्मान डा. रामकण्ठ माकाजू श्रेष्ठलाई प्रदान गरिएको । 

नेपाल जनप्रशासन सङ्घ र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा सार्वजनिक प्रशासन, व्यवस्थापन र स्वास्थ्य क्षेत्रमा योगदान पु¥याउने दुई व्यक्तित्वलाई सो सम्मान प्रदान गर्ने निर्णय गरिएको ।

धुलिखेल अस्पतालको स्थापना तथा स्वास्थ्य क्षेत्रमा दिएको योगदानस्वरूप डा. रामकण्ठ माकाजूलाई र सार्वजनिक प्रशासन तथा सेवाको अभिवृद्धिमा पु¥याएको योगदानस्वरूप पूर्वसचिव रामेश्वरप्रसाद खनाललाई यो सम्मान दिइएको । 

पुरस्कार राशि : जनही दुई लाख रुपियाँ ।

साल्ट ट्रेडिङ कर्पोरेसनका तत्कालीन व्यवस्थापक हेमबहादुर मल्लको स्मृतिमा विसं २०६० सालदेखि यो सम्मान प्रदान गर्न थालिएको । 


३. हालसालै सफल परीक्षण उडान गरेको ब्याट्रीबाट सञ्चालित विश्वकै सबैभन्दा ठुलो विद्युतीय विमान कुन हो ? 

उत्तर : ‘एक्स–वान’ 

स्विडेनी मूलको अमेरिकी कम्पनी ‘हार्ट एरोस्पेस’ ले निर्माण गरेको विश्वकै ठुलो विद्युतीय विमान ‘एक्स–वान’ ले न्युयोर्कको आकाशमा २७ मिनेट लामो सफल परीक्षण उडान गरेको ।

उडानका व्रmममा विमानले एक मेगावाटभन्दा बढी विद्युतीय ऊर्जा खपत गरेको थियो, उडानको लागत जम्मा पाँच अमेरिकी डलर मात्र परेको कम्पनीले जनाएको ।

३० सिट क्षमताको व्यावसायिक विमानको आकारमा निर्माण गरिएको यसको तौल करिब ११ हजार ३४० किलो, पखेटाको लम्बाइ १०६ फिट र कुल लम्बाइ ७६ फिट रहेको छ । परीक्षणका व्रmममा यसले एक हजार एक सय फिटको उचाइ तय गरेको थियो ।

व्यावसायिक लक्ष्य ः यो विमान सिधै व्यावसायिक सेवामा जाने छैन । कम्पनीले सन् २०३१ सम्ममा बजारमा ल्याउने तयारी गरेको । 

परम्परागत विमानको तुलनामा यो हाइब्रिड विमान सञ्चालन गर्न ४० प्रतिशत सस्तो पर्ने जनाइएको । 

उडान दुरी (रेन्ज) : यो विमान ब्याट्रीको ऊर्जाबाट मात्र करिब १२५ माइलसम्म उड्न सक्ने छ भने हाइब्रिड इन्जिन (रेन्ज एक्सटेन्डर) को सहयोगमा यसको क्षमता पाँच सय माइलसम्म पुग्ने छ ।


४. प्रोफेसनल मिक्स मार्सल आटर््स (एमएमए) मा जित निकाल्ने पहिलो नेपाली महिला खेलाडी को हुन् ? 

उत्तर : सुस्मिता थापामगर

उनले भारतको बैङ्लुरुमा आयोजित ‘रोनिन एफसी ३’ प्रतियोगितामा आफ्नो डेब्यु खेल खेल्दै भारतकी सालु शर्मालाई पराजित गरेकी ।

गण्डकी प्रदेशकी फाइटर सुस्मिताले यसअघि तेक्वान्दो, किकबक्सिङ र मुवाथाई जस्ता खेलमा आफ्नो क्षमता प्रदर्शन गरिसकेकी ।


५. ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा पुरस्कार’ बाट कसलाई पुरस्कृत गरियो ? 

उत्तर : लघुकथाकार अल्पविराम पोखरेली (विष्णुकुमार श्रेष्ठ)


६. काठमाडौँ उपत्यकाका सबै स्थानीय तहमा ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ कहिलेदेखि लागु हुने व्यवस्था गरिएको छ ? 

उत्तर : विसं २०८३ मङ्सिर १ देखि (राजपत्रमा सूचना प्रकाशित गरी)

दुई दशकअघि बनेको ‘पशुवधशाला र मासु जाँच ऐन, २०५५’ लाई नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी देशभर चरणबद्ध रूपमा लागु गर्ने घोषणा गरेको ।

यो ऐन काठमाडौँ उपत्यकामा २०८३ मङ्सिर १ देखि देशका सबै महानगर, उपमहानगर र नगरपालिकामा माघ १ देखि र गाउँपालिकामा २०८४ साउन १ देखि लागु हुने छ ।

ऐनले पशुवध गर्नुअघि र पछि अनिवार्य प्राविधिक स्वास्थ्य परीक्षण गर्नुपर्ने, तोकिएको व्यवस्थित वधशालामा मात्र पशुवध गर्नुपर्ने र मासु निरीक्षकले स्वीकृत गरेपछि मात्र बिव्रmीवितरण गर्न पाइने व्यवस्था गरेको छ ।

खुला स्थानमा गरिने परम्परागत पशुवधलाई निरुत्साहित गर्दै रोगी, सङ्व्रmमित वा कालगतिले मरेका पशुको मासु बिव्रmीमा कडा रोक लगाइएको छ । यसले मानिसमा सर्ने गम्भीर जीवाणुजन्य तथा भाइरसजन्य रोगको जोखिमलाई न्यूनीकरण गर्ने विश्वास गरिएको ।


७. कालीकोट जिल्लामा निर्माण हुन लागेको तिला–२ जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ ? 

उत्तर : ४२० मेगावाट

कुल ७० अर्ब सात करोड रुपियाँ लागत अनुमान गरिएको यस आयोजनामा ७५ प्रतिशत (५२ अर्ब ५५ करोड) बैङ्कहरूको ऋण र २५ प्रतिशत (१७ अर्ब 

५२ करोड) प्रवर्धक 

(ऊर्जा तिला पावर कम्पनी प्रालि) को स्वपुँजी रहने छ । यसमध्ये २० प्रतिशत सेयर स्थानीय र सर्वसाधारणलाई छुट्याइने छ ।

दैनिक ६ घण्टासम्म पूर्ण क्षमतामा चलाउन सकिने (पिकिङ) यस आयोजनाको बाँध तिलागुफा नगरपालिकामा र विद्युत्गृह खाँडाचव्रm नगरपालिकामा निर्माण गरिने । निर्माण सुरु भएको चार वर्षभित्र विद्युत् उत्पादन थाल्ने लक्ष्य राखिएको ।

यस आयोजनाले २०७५ सालमै उत्पादन अनुमतिपत्र र २०८१ कात्तिक ७ मा विद्युत् प्राधिकरणसँग खरिदबिव्रmी सम्झौता (पिपिए) गरिसकेको । 


८. राष्ट्रिय सूचना दिवस कहिले मनाइन्छ ? 

उत्तर : भदौ ३ गते

सूचनाको हकसम्बन्धी ऐन, २०६४ जारी भई कार्यान्वयनमा आएको दिनको सम्झनामा भदौ ३ गतेका दिन यो दिवस मनाउने गरिएको । 

विसं २०६४ साउन ५ गते संसद्बाट पारित भएको यो कानुन ३० दिनपछि अर्थात् २०६४ भदौ ३ 

गतेदेखि लागु भएको ।

नेपालको संविधानको धारा २७ ले प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने अधिकारलाई मौलिक हकका रूपमा व्यवस्थित गरेको ।


९. “हामीले जीवनबाट सिक्न सक्ने महìवपूर्ण पाठ भनेको संसारमा दुःख छ भनेर बुझ्नु होइन बरु हरेक दुःखलाई सुखमा बदल्न सकिन्छ भन्ने बुझ्नु हो ।” यस भनाइका विचारक को हुन् ?  

उत्तर : रवीन्द्रनाथ टैगोर 


१०. ‘मिस एन्ड मिसेस ब्युटिफुल नेपाल’ प्रतियोगितामा ‘मिसेस नेपाल’ को मुख्य उपाधि कसले जितिन् ? 

उत्तर : रिता तामाङ

पेसाले ब्युटिसियन रहेकी तामाङले मुख्य उपाधिसँगै ‘मिसेस फोटोजेनिक’, ‘मिसेस ट्यालेन्ट’ र ‘मिसेस बेस्ट वाक’ गरी थप तीन वटा विधामा समेत उपाधि हात पारेकी ।



११. गुल्मीको धुर्कोट गाउँपालिकामा ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी निर्माण गरिएको पर्यटकीय पदमार्गलाई के नाम दिइएको छ ? 

उत्तर : धुर्कोट ग्रेटवाल

गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी करिब एक किलोमिटर लामो ‘धुर्कोट ग्रेटवाल’ निर्माण गरेको ।

यस संरचनाबाट माछापुच्छ«े, अन्नपूर्ण र धवलागिरिलगायतका हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिने । 

ग्रेटवाल क्षेत्रलाई आकर्षक र हराभरा बनाउन विभिन्न प्रजातिका दुई हजारभन्दा बढी बिरुवा रोपिएको छ र यसको संरक्षणका लागि हेरालुको व्यवस्थासमेत गरिएको ।


१२. नेपाल भलिबल लिग (एनभिएल) को पहिलो संस्करणका लागि तय गरिएको मिति कुन हो ? 

उत्तर : विसं २०८३ भदौ १९–२७ गते (सन् २०२६ सेप्टेम्बर ४–१२) 


१३. नेपाल सरकारले हालै नेपाल राष्ट्र बैङ्कको रिक्त डेपुटी गभर्नर पदमा कसलाई नियुक्त गरेको छ ? 

उत्तर : दीर्घ रावल (विसं २०८३ भदौ ३)

मन्त्रीपरिषद् बैठकले नेपाल राष्ट्र बैङ्कको बैङ्क सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक दीर्घ रावललाई आगामी ५ वर्षका लागि डेपुटी गभर्नर पदमा नियुक्त गरेको ।

यसअघि विसं २०८२ चैत २४ मा किरण पण्डितलाई पाँचबर्से कार्यकालका लागि अर्को डेपुटी गभर्नर पदमा नियुक्त गरिएको थियो । 

नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ अनुसार केन्द्रीय बैङ्कमा दुई जना डेपुटी गभर्नर रहने व्यवस्था छ । यसअघिका डेपुटी गभर्नरहरू बमबहादुर मिश्र र नीलम ढुङ्गानाको पदावधि सकिएपछि रिक्त भएका दुवै पद अब 

पूर्ण भएका छन् ।

नेपाल राष्ट्र बैङ्कको नियमानुसार गभर्नरको अनुपस्थितिमा वरिष्ठ डेपुटी गभर्नरले गभर्नरको कामकाज समाल्ने व्यवस्था छ ।


१४. विश्व फोटोग्राफी दिवस कहिले मनाइन्छ ? 

उत्तर : अगस्त १९ 

फोटोग्राफीमा रुचि राख्नेलाई प्रोत्साहन गर्न र व्यावसायिक रूपमा यस क्षेत्रमा आबद्ध व्यक्तिको सम्मान गर्ने उद्देश्यले यो दिवस मनाइने । विश्वभर १८५ औँ फोटोग्राफी दिवस मनाइरहँदा, नेपालमा भने सन् २०१० देखि मात्रै औपचारिक रूपमा यो दिवस मनाउन सुरु गरिएको ।


१५. ‘गुरही’ पर्व कुन समुदायमा प्रचलित पर्व हो ? 

उत्तर : थारू 

आदिवासी थारू समुदाय (विशेष गरी दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) ले नागपञ्चमीको साँझ सामूहिक रूपमा ‘गुरही’ पर्व मनाउँछन् । यस पर्वलाई खेतीपाती, प्रकृति र सामुदायिक एकताको पर्वका रूपमा लिइन्छ ।

रङ्गीचङ्गी कपडाबाट किराको प्रतीकका रूपमा ‘गुरही’ बनाइन्छ र गाउँको दक्षिणतिरको सार्वजनिक चौबाटोमा साँझपख यसलाई सामूहिक रूपमा अस्राउने (बिसर्जन गर्ने) गरिन्छ । यस कार्यमा अविवाहित बालबालिकाको मुख्य भूमिका रहन्छ । बालिकाले बिसर्जन गर्ने र बालकले सोंटाले हानेर धपाउने  चलन छ ।

‘गुरही’लाई भगाएपछि भदौमा हराभरा हुने, धानबालीमा लाग्ने किराफट्याङ्ग्रा र रोगव्याधि नष्ट हुने जनविश्वास रहेको छ । धानबालीका लागि आवश्यक पानी नपरेमा इन्द्र भगवान्सँग पर्याप्त वर्षाका लागि बिन्ती गर्ने आस्था पनि यसै पर्वसँग जोडिएको छ । पर्वमा चना वा मकैबाट बनाइने ‘भुङ्ग्री’ नामक मौलिक प्रसाद ग्रहण गरिन्छ । गुरुवाले चोखो जल र मदले छाँकीबुँदी दिएर पूजा सम्पन्न गर्ने चलन छ ।

प्रस्तुतकर्ता : टङ्क केसी