Source: Gorkhapatra (original)
Open Original 🖨️ Export PDF

उपभोक्ता अदालतको अधिकार क्षेत्र : विषयगत प्रश्नोत्तर

उपभोक्ता अदालतको अधिकार क्षेत्र : विषयगत प्रश्नोत्तर
मिति: ३१ असार २०८३

उपभोक्ता अदालतको अधिकार क्षेत्र

 १. उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम उपभोक्ताका अधिकार उल्लेख गर्दै नेपालमा उपभोक्ता अदालतको गठनसम्बन्धी व्यवस्था र यसको अधिकार क्षेत्र जानकारी गराउनुहोस् ।

उत्तर : नेपालको संविधानले उपभोक्ताको हकलाई मौलिक हकका रूपमा स्वीकार गरेको छ । उपभोक्ताको हक कार्यान्वयन गर्न उपभोक्ता संरक्षण ऐन र नियमावली जारी गरिएको छ । नेपालको संविधान र कानुनले उपभोक्ताको हक कार्यान्वयन एवं न्यायिक उपचारका लागि उपभोक्ता अदालत गठन गर्न सकिने व्यवस्था छ । उपभोक्ता संरक्षण ऐन, २०७५ मा उल्लेख भए अनुसार उपभोक्ताका अधिकार यसप्रकार छन् :

वस्तु वा सेवामा सही पहुँचको अधिकार,

स्वच्छ प्रतिस्पर्धात्मक मूल्यमा गुणस्तरीय वस्तु वा सेवाको छनोट गर्न पाउने अधिकार,

वस्तु वा सेवाको मूल्य, परिमाण, शुद्धता, गुणस्तर आदिबारे सूचित हुने अधिकार,

दुई वा दुईभन्दा बढी पदार्थको मिश्रणबाट बनेको वा उत्पादित वस्तुमा रहेका त्यस्ता पदार्थको मात्रा, तत्व वा प्रतिशतको सम्बन्धमा उत्पादक, पैठारीकर्ता वा विक्रेताबाट जानकारी पाउने अधिकार,

मानव जीउ, ज्यान, स्वास्थ्य तथा सम्पत्तिमा हानि पु¥याउने वस्तु तथा सेवाको बिक्री–वितरणबाट सुरक्षित हुन पाउने अधिकार,

अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलापविरुद्ध उचित कानुनी कारबाही गराउन पाउने अधिकार,

वस्तु वा सेवाको प्रयोगबाट भएको हानि, नोक्सानीविरुद्ध क्षतिपूर्ति पाउने अधिकार,

उपभोक्ताको हकहितको संरक्षणका सम्बन्धमा अधिकारप्राप्त अधिकारी वा निकायबाट उपचार पाउने वा सुनुवाइ हुने अधिकार,

उपभोक्ता शिक्षा पाउने अधिकार ।

उपभोक्ता अदालतको गठन :

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ४१ मा उपभोक्ता अदालतको गठनसम्बन्धी व्यवस्था छ । नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी आवश्यकता अनुसार उपभोक्ता अदालत गठन गर्न सक्छ । यसरी गठन हुने अदालतको मुकाम र क्षेत्राधिकार सोही सूचनामा उल्लेख भएबमोजिम हुने कानुनी व्यवस्था छ । साथै नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी अदालतलाई जुनसुकै बखत विघटन गर्न सक्ने अधिकारसमेत नेपाल सरकारलाई प्रदान गरेको छ । उपभोक्ता अदालतमा देहायका अध्यक्ष र सदस्य रहन्छन् :

क) नेपाल सरकारले तोकेको सम्बन्धित जिल्लाको न्यायाधीश – अध्यक्ष

ख) नेपाल सरकारले तोकेको नेपाल न्याय सेवाको राजपत्राङ्कित द्वितीय श्रेणीको अधिकृत – सदस्य

ग) नेपाल सरकारले तोकेको नेपाल सरकारको राजपत्राङ्कित द्वितीय श्रेणीको अधिकृत– सदस्य

उपभोक्ता अदालतको अधिकार क्षेत्र :

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ४० –१) बाहेकका मुद्दाहरू दर्ता, सुनुवाइ र किनारा लगाउने कार्य उपभोक्ता अदालतले गर्दछ । उपभोक्ता अदालतले देहायका मुद्दाको सुरु कारबाही र किनारा लगाउने काम गर्दछ :

उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता, विक्रेता वा सेवा प्रदायकले आफ्नो दायित्व पूरा नगरेमा वा दायित्वको उल्लङ्घन हुने काम गरे वा गराएमा,

अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गरे गराएमा,

माग, आपूर्ति वा मूल्यमा प्रतिकूल प्रभाव पार्ने कार्य गरे वा गराएमा ।

अन्त्यमा, नेपालको संवैधानिक तथा कानुनी व्यवस्थाले उपभोक्तालाई अधिकारसम्पन्न बनाइ उपभोक्ताको हकहितको संरक्षण र हक हनन भएमा न्यायिक उपचारको समेत प्रबन्ध गरेको छ । उपभोक्ता अदालतको गठन, कार्यसञ्चालन र क्षेत्राधिकारको कानुनी प्रबन्धसँगै उपभोक्ताको हक संरक्षण, बजार अनुशासन कायम तथा उपभोक्तामैत्री शासन प्रवर्धनमा सहयोग पुग्न सक्ने देखिन्छ ।


२. वित्त नीति र मौद्रिक नीतिबिच समन्वय हुन किन आवश्यक मानिन्छ ? लेख्नुहोस् ।

उत्तर : अर्थतन्त्रमा वाञ्छित प्रभाव पार्न सरकारले जारी गर्ने नीतिलाई वित्त नीति भनिन्छ । यसले आर्थिक वृद्धि, रोजगारी सिर्जना, सामाजिक न्याय र समष्टिगत आर्थिक स्थायित्वमा जोड दिन्छ । सार्वजनिक खर्च, सार्वजनिक ऋण र कर नीतिको आधारमा सरकारको वित्त नीति तय हुन्छ । सरकारले वार्षिक बजेटका रूपमा प्रस्तुत गर्ने यो नीति संसद्बाट अनुमोदन भई जारी हुन्छ । त्यस्तै गरी अर्थतन्त्रमा वाञ्छित प्रभाव पारी मुलुकको अर्थतन्त्रको स्वास्थ्यलाई सन्तुलनमा राख्न केन्द्रीय बैङ्कले जारी गर्ने नीतिलाई मौद्रिक नीति भनिन्छ । मौद्रिक नीतिले मूल्य स्थिरता, बाह्य स्थिरता, ब्याजदर स्थिरता कायम गर्दै सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य प्राप्तिमा सहयोग गर्दछ । यस नीति अन्तर्गत मुद्रा आपूर्ति, बैङ्क कर्जा र ब्याजदरलाई वाञ्छित सीमाभित्र राख्न विभिन्न उपाय अवलम्बन गरिन्छ । केन्द्रीय बैङ्कको सञ्चालक समितिबाट यो नीति पारित गरी जारी गरिन्छ ।

वित्त नीति र मौद्रिक नीतिबिचको समन्वयको आवश्यकता :

सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न,

रोजगारी सिर्जना गर्न,

मुद्रास्फीति नियन्त्रण गर्न,

साधनस्रोतको समन्यायिक विनियोजन गर्न,

आर्थिक मन्दीको अवस्थाबाट मुक्त हुन,

सरकार र सरकारका नीतिप्रति उद्योगी, व्यवसायी तथा लगानीकर्ताको विश्वास बचाइराख्न,

अर्थतन्त्रमा देखापर्न सक्ने जोखिम र आर्थिक झड्काहरूको सही व्यवस्थापन गर्न,

समष्टिगत आर्थिक स्थायित्व कायम गर्न ।

अन्त्यमा, राज्यको बृहत् आर्थिक उद्देश्य हासिल गर्न राज्यको आर्थिक नीति संरचना अन्तर्गत वित्त नीति र मौद्रिक नीति तर्जुमा गरी कार्यान्वयन गरिन्छ । माथि उल्लिखित उद्देश्य हासिल गरी अर्थतन्त्रलाई चलायमान बनाउँदै सन्तुलनमा राख्न वित्त नीति र मौद्रिक नीतिबिच समन्वयको आवश्यकता पर्दछ ।


३. सुशासन–व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ बमोजिम सरकारी कार्यालयले प्रभावकारी कार्यसम्पादन गरी नागरिकमा सुशासनको अनुभूति गराउन कार्यालय प्रमुखले के कस्ता जिम्मेवारी निर्वाह गर्नु पर्छ ? लेख्नुहोस् ।

उत्तर : सरकारका नीति तथा कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयनमार्फत नागरिक माझ सरकारको उपस्थिति भएको अनुभूति दिलाउन सार्वजनिक निकायको भूमिका महìवपूर्ण रहन्छ । सार्वजनिक निकायले मूलतः सेवाप्रदायक, विकास व्यवस्थापक, नियामक, संयोजक एवं सहजकर्ताको भूमिका निर्वाह गरी सुशासन प्रवर्धनमा योगदान गर्दछन् । कार्यालय प्रमुखले आफ्नो कार्यालयको प्रशासनिक र आर्थिक नियन्त्रण गरी कार्यालयको घोषित उद्देश्य प्राप्तिमा आफू मातहतका संयन्त्रलाई परिचालन गर्दछन् । सुशासन –व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ अनुसार कार्यालय प्रमुखले प्रशासनिक तथा आर्थिक अनुशासनसँगै सुशासन कायम गर्न देहायको जिम्मेवारी निर्वाह गर्नु पर्दछ ः

आफू बहाल गरेको कार्यालयको व्यवस्थापन, दैनिक कार्य सञ्चालन तथा सो कार्यालयमा कार्यरत कर्मचारीको सुपरीवेक्षण तथा नियन्त्रण गर्ने,

आफू बहाल रहेको कार्यालय तथा अन्तर्गतका कर्मचारीलाई काज खटाउने, राजपत्र अनङ्कित कर्मचारीलाई एक कार्यालयबाट अर्को कार्यालयमा सरुवा गर्ने,

उत्कृष्ट र प्रशंसनीय कार्य गर्ने आफ्नो कार्यालयको कर्मचारीलाई ग्रेड थप वा नगद पुरस्कारका लागि विभागीय प्रमुखसमक्ष सिफारिस गर्ने,

आफू बहाल रहेको कार्यालयबाट जनसाधारणलाई प्रदान गरिने सेवालाई प्रभावकारी बनाउने,

कार्यालयको वार्षिक कार्यक्रम तयार गरी प्रस्ताव गर्ने, स्वीकृत कार्यक्रमको नतिजामूलक कार्यतालिका बनाई कार्यसम्पादन गर्ने, सञ्चालित कार्यक्रम र आयोजनाको काम तोकिएको लागत र समयभित्र सम्पन्न गर्न लगाउने,

मातहतको निकाय वा आयोजनाको स्थलगत निरीक्षण गर्ने, कार्यक्रम र आयोजनाको प्रगति विवरण माग गर्ने, समीक्षा गर्ने, समस्या समाधानका लागि पहल गर्ने,

बहाल रहेको कार्यालय र मातहतका निकाय वा आयोजनामा आर्थिक अनुशासन कायम गर्ने, बेरुजुको समयमै फस्र्योट गर्ने कार्यका लागि निरीक्षण गर्ने, निर्देशन दिने र सहजीकरण गर्ने,

मातहतका निकाय वा आयोजनाबाट हुने उदाहरणीय, उपयोगी, अन्वेषणात्मक वा अनुसन्धानात्मक कार्यको प्रोत्साहन गर्ने,

आफू बहाल कार्यालय, मातहतको निकाय वा आयोजनामा सरकारी नीति, कानुन र कार्यक्रमविपरीत कार्य हुन लागेको जानकारी प्राप्त भएमा वा निरीक्षणको क्रममा देखिएमा सो कार्य रोक्न सम्बन्धित पदाधिकारीको ध्यानाकर्षण गराउने,

मातहतका कार्यालयको प्रशासनिक काम कारबाहीमा समन्वय गर्ने,

आफ्नो कार्यक्षेत्र एवं कर्मचारी प्रशासनसँग सम्बन्धित कानुनले तोकेका कार्यहरू गर्ने ।

अन्त्यमा, शासनको मुख्य लक्ष्य नै सुशासन हो । यसको प्राप्ति सामूहिक प्रयासबाट मात्र सम्भव हुन्छ । सबै सार्वजनिक निकायबाट तोकिएको जिम्मेवारी प्रभावकारी ढङ्गले निर्वाह गरेर नै सुशासनलाई व्यवहारमा अनुभूत गराउन सकिन्छ । आफ्नो कार्यालयको समग्र व्यवस्थापनको अन्तिम जवाफदेहिता कार्यालय प्रमुखले वहन गर्नुपर्ने हुनाले कार्यालयका काम कारबाही सुशासनको मूल्य मान्यता अनुरूप सम्पादन गरी पदीय जिम्मेवारी पूरा गर्न निरन्तर प्रयास गर्नु पर्छ ।


४. नेपालको संविधानबमोजिम मन्त्रीपरिषद्को सिफारिसमा र मन्त्रीपरिषद्बाहेक अन्य निकाय वा पदाधिकारीको सिफारिसमा राष्ट्रपतिले गर्ने कार्य उल्लेख गर्दै प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराउने भनी उल्लेख भएका विषय प्रस्तुत गर्नुहोस् ।

उत्तर : नेपालको संविधानले राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने र राष्ट्रपतिले संविधान र सङ्घीय कानुनबमोजिम आफ्नो कार्यसम्पादन गर्ने छ भनी उल्लेख गरेको छ । संविधानको पालना र संरक्षणलाई राष्ट्रपतिको प्रमुख कर्तव्यका रूपमा उल्लेख गरिएको छ । राष्ट्रपतिले आफ्नो अधिकारको प्रयोग र कर्तव्यको पालना गर्दा संविधान र सङ्घीय कानुनबमोजिम कुनै निकाय वा पदाधिकारीको सिफारिसमा गरिने भनी किटानीसाथ व्यवस्था गरेको कार्यबाहेक राष्ट्रपतिबाट सम्पादन गरिने अन्य जुनसुकै कार्य मन्त्रीपरिषद्को सिफारिस र सम्मतिबाट हुने संवैधानिक व्यवस्था छ । संविधानबमोजिम मन्त्रीपरिषद्को सिफारिस एवं निर्णयबमोजिम राष्ट्रपतिबाट सम्पादन हुने कार्य यसप्रकार छन् ः

सङ्घीय संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने –धारा ९३),

अध्यादेश जारी गर्ने –धारा ११४),

प्रदेश प्रमुखको नियुक्ति र पदमुक्ति गर्ने –धारा १६३),

नेपाली सेनाका प्रधान सेनापतिको नियुक्ति र पदमुक्ति गर्ने –धारा २६७)

राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा मन्त्रीपरिषद्को निर्णयका आधारमा नेपाली सेना परिचालन 

–धारा २६७),

सङ्कटकालीन अवस्थाको घोषणा वा आदेश जारी गर्ने –धारा २७३),

सजाय माफी, मुल्तवी, परिवर्तन वा कम गर्ने 

–धारा २७६)

राज्यको तर्फबाट प्रदान गरिने उपाधि, सम्मान र विभूषण प्रदान गर्ने –धारा २७७)

राजदूत र विशेष प्रतिनिधि नियुक्त गर्ने –धारा २८२)

मन्त्रीपरिषद्बाहेक अन्य निकाय वा पदाधिकारीको सिफारिसमा गर्ने कार्यहरू :

मन्त्रीपरिषद्बाहेक अन्य निकाय वा पदाधिकारीको सिफारिसमा राष्ट्रपतिबाट सम्पादन हुने कार्यहरू यसप्रकार छन् : 

प्रधानमन्त्रीको सिफारिसमा मन्त्रीपरिषद्को गठन,

प्रधानमन्त्रीको सिफारिसमा महान्यायाधिवक्ताको नियुक्ति,

संवैधानिक परिषद्को सिफारिसमा प्रधानन्यायाधीशको नियुक्ति,

न्याय परिषद्को सिफारिसमा सर्वोच्च अदालतका न्यायाधीशको नियुक्ति,

संवैधानिक परिषद्को सिफारिसमा संवैधानिक निकायका प्रमुख र सदस्यको नियुक्ति ।

प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराउने भनी संविधानमा उल्लेख भएका विषय :

क) मन्त्रीपरिषद्का निर्णय,

ख) सङ्घीय संसद्मा पेस गरिने विधेयक,

ग) मन्त्रीपरिषद्का निर्णय र सङ्घीय संसद्मा पेस गरिने विधेयकका उल्लिखित विषयमा राष्ट्रपतिले जानकारी मागेको अन्य विवरण र,

घ) नेपालको समसामयिक परिस्थिति र वैदेशिक सम्बन्धका विषय । 

अन्त्यमा, नेपालको संविधानले राष्ट्रपतिलाई कार्यकारी भूमिका प्रदान गरेको पाइँदैन । राष्ट्रको अध्यक्ष, राष्ट्रिय एकताको प्रवर्धक, संविधानको संरक्षक, कानुन र विधिको परिपालक तथा राज्यको अभिभावकका रूपमा राष्ट्रपति संस्थाको परिकल्पना गरिएको छ । संविधान वा सङ्घीय कानुनले अन्यथा व्यवस्था गरेकोमा बाहेक राष्ट्रपतिले आफ्नो अधिकारको प्रयोग र कर्तव्यको पालना मन्त्रीपरिषद्को सिफारिस र सम्मतिबाट गर्ने भन्ने व्यवस्थाले नेपालको राष्ट्रपतिको भूमिका स्पष्ट हुन्छ । कार्यकारी अधिकार मन्त्रीपरिषद्मा निहित भएकाले राष्ट्रपतिबाट अधिकांश कार्य मन्त्रीपरिषद्को सिफारिसमा मात्र सम्पादन हुन्छन् ।


५. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ का उद्देश्य उल्लेख गर्नुहोस् । साथै, स्थानीय सञ्चित कोषमा कस्ता रकम जम्मा हुन्छन् ? लेख्नुहोस् ।

उत्तर : नेपालको संविधानले स्थानीय तहलाई प्रदान गरेका जिम्मेवारी प्रभावकारी ढङ्गले सम्पादन गरी स्थानीय शासन प्रक्रियालाई व्यवस्थित बनाउन सङ्घीय संसद्बाट स्थानीय सरकार सञ्चालन ऐन, २०७४ जारी गरिएको छ । यस ऐनका प्रमुख उद्देश्य यसप्रकार छन् :

नेपालको संविधानबमोजिम स्थानीय तहको अधिकारसम्बन्धी प्रावधान कार्यान्वयन गर्न,

सङ्घ, प्रदेश र स्थानीय तहबिचको सहकारिता, सहअस्तित्व र समन्वयमूलक सम्बन्धलाई प्रवर्धन गर्न,

स्थानीय तहमा जनसहभागिता, उत्तरदायित्व, पारदर्शिता सुनिश्चित गरी सुलभ र गुणस्तरीय सेवा प्रवाह गर्न,

लोकतन्त्रका लाभको समानुपातिक र न्यायोचित रूपमा वितरण गर्न,

कानुनी राज्य र दिगो विकासको अवधारणा अनुरूप समाजवाद उन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई स्थानीय तहदेखि नै सुदृढीकरण गर्न,

स्थानीय नेतृत्वको विकास गर्दै स्थानीय शासन पद्धतिलाई सुदृढ गर्न,

स्थानीय तहमा विधायिकी, कार्यकारिणी र न्यायिक अभ्यासलाई संस्थागत गर्नका निमित्त स्थानीय सरकारको सञ्चालन गर्न,

स्थानीय सञ्चित कोषमा जम्मा हुने रकमहरू :

स्थानीय सरकारलाई प्राप्त हुने सबै प्रकारका रकम जम्मा गर्न नेपालको संविधानको धारा २२९ मा स्थानीय सञ्चित कोषको व्यवस्था गरिएको छ । यस कोषमा देहायका रकम जम्मा गर्न सकिन्छ :

आफ्नो स्रोतबाट उठेको रकम,

राजस्व बाँडफाँटबाट प्राप्त रकम,

नेपाल सरकारबाट प्राप्त अनुदान रकम,

प्रदेश सरकारबाट प्राप्त अनुदान रकम,

अन्य गाउँपालिका वा नगरपालिकाबाट प्राप्त अनुदान रकम, वैदेशिक सहायताबाट नेपाल सरकारले उपलब्ध गराएको रकम,

आन्तरिक ऋणबाट प्राप्त रकम,

कुनै व्यक्ति, सङ्घ वा संस्थाबाट प्राप्त रकम,

अन्य स्रोतबाट प्राप्त हुने कुनै रकम,

यसरी स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहको राजनीतिक, प्रशासनिक, न्यायिक एवं वित्तीय अधिकार क्षेत्रको विषय उल्लेख गर्नुका साथै सोको कार्यान्वयन प्रक्रियासमेत स्पष्ट पारेको छ । 

प्रस्तुतकर्ता : अर्जुन शर्मा